प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
भदौ २०७९
प्र.अ.म.नि रबिन्द्र बहादुर धानुकबाट मातहत कार्यालयका प्रमुखहरूलाई निर्देशन
२०७९-०५-३१

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले मातहत कार्यालयका प्रमुखहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभा हलमा शुक्रवार विहान निर्देशन दिनु भएको छ ।उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक धानुकले अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्राथमिकतामा राखी चाडपर्व लक्षित भरपर्दो सुरक्षा योजना तयार गरि लागु गर्न निर्देशन दिनु भयो । विशेष गरी चाड पर्वमा, पाकेटमारी, चोरी, डकैती र लुटपाटका घटना हुन सक्ने तथा बैंकवित्तीय संस्था, अति भीडभाड हुने स्थान, मेला लाग्ने मठमन्दिर लगायत क्षेत्रहरूमा भरपर्दो सुरक्षा व्यबस्था मिलाउन मातहत कार्यालयलाई निर्देशन दिनु भयो ।समुदाय संगको सहकार्यले अपराध रोकथाम र नियन्त्रणमा उल्लेखनीय भुमिका खेल्ने बताउदै विद्यालत तथा समाजमा प्रहरीको काम कर्तव्य लगाएत साइवर क्राइम,लागुऔषध, ट्राफिक व्यवस्थापन लगाएतका सचेतनामुलक कार्यक्रमहरू अझ बढि संचालन गर्न पनि निर्देशन दिनु भयो ।Punishment र Reward तत्कालै गर्ने भन्दै राम्रो काम गर्ने लाई तत्काल पुरस्कृत गर्ने र कोही कसैले प्रहरी आचरण विरुद्ध प्रहरी संगठनको आँच आउने कार्य गरेमा तत्कालै सजाय गर्न पनि उहाले बताउनु भयो । साथै उहाँले आफ्नो अधिकार क्षेत्र भित्र रहेर सोही अनुसार गर्न  मातहत कार्यालय प्रमुखहरूलाई समेत निर्देशन दिनु भयो ।  आर्थिक पारदर्शिता, महिला हिंसा, यौनजन्य हिंसालाई शुन्य सहनसिलता (zero Tolerance) मा प्रहरी कारवाहीलाई अगाडी बढाउन र उपत्यकाको ट्राफिक ब्यवस्थापनलाई योजना बनाई कार्यन्वयन गर्न तथा नागरिकहरूसंग प्रहरीको प्रत्यक्ष सम्पर्क हुने हुनाले आफ्ना कमी कमजोरीलाई सुधार गर्दै बोली वचन-व्यवहारमा शिष्टता र नम्रता अपनाई कानून कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।कार्यक्रममा यस कार्यालय तथा मातहत कार्यालयका प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू, प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो ।

टिकटक बनाउने बहाना बनाई मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ
२०७९-०५-२१

काठमाडौं, टिकटक बनाउने बहाना बनाई मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१० ठेगाना भएका ३२ वर्षीय रामचन्द्र रावल, सोही ठाउँ ठेगाना भएका १८ वर्षीय किशोर र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-४ टाकुरे ठेगाना भएका ३२ वर्षीय पुस्कर काफ्ले रहेका छन् ।            काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मोटरसाइकल चोरी गर्ने, पार्टपुर्जा विक्री वितरण गर्ने र चोरीको सामान किन्ने कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले मोटरसाइकल चालकसँग चिनजान गरी सम्बन्ध बनाउने र टिकटक बनाउने भन्दै मोटरसाइकल मागेर फरार हुने गरेको, चोरी गरी ल्याएको मोटरसाइकलहरू सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१३ स्थित रावल लेथ एण्ड इन्जिनिरिङ वर्कसपमा लगिदिने गरेको र मोटरसाइकलको पार्टपुर्जा अर्को मोटरसाइकलमा फेर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ । 

मातहत कार्यालयका प्रमुखहरुसंग बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर
२०७९-०५-१२

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरूसंग बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्नु भएको छ  ।संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकबीच गत श्रावण २५ गते बार्षिक कार्य सम्पादन सम्झौता भए अनुसार उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आइतबार एक समारोहकाबीच मातहत कार्यालयका प्रमुखहरू संग कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुक र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञावली, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भरत बहादुर बोहरा, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख यज्ञ विनोद पोखरेल र जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक प्रजित के.सी.बीच हस्ताक्षर भएको थियो । कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुखले सम्झौता पत्रमा उल्लेख भएका कार्यहरू अक्षरंस पालना गरि कार्यान्वयन गर्न हुन मातहत कार्यालयका प्रमुखहरूलाई समेत निर्देशन दिनुहुदै आफ्नो मातहतलाई समेत परिचालन, उत्प्रेरित गर्न एवम् नियमित, अनुगमन र सुपरिवेक्षण गर्न समेत उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका प्रहरी कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन साथै प्रहरी कर्मचारीहरूको व्यवस्थापन र क्षमता अभिबृद्धि गर्ने र प्रशासनिक काम कारवाहीलाई चुस्त र प्रभावकारी बनाउन कार्य सम्पादन करार उपलब्धीमूलक हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ
२०७९-०५-०९

रामेछाप जिल्ला तिलपुङग गा.पा. वडा न.२ स्थायी ठेगाना भई हाल कर्तव्य ज्यान मुद्धाको कैदी बन्दीको रुपमा नेपाल प्रहरी अनाश्रीत गुल्म नख्खु ललितपुरको कारागारमा रहेका बर्ष ३१ को भोला बुढाथोकी मिति २०७९/०५/०८ गते उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजबाट १६:१० बजेको समयमा फरार भएकोमा फरार कैदीको खोजतलास गर्ने क्रममा मिति २०७९/०५/०९ गते बिहान ०६:४५ बजेको समयमा ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा न. ०८ लुभु बसपार्क नजिकबाट जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले हतकडी सहित पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको छ । 

उपत्यका स्तरीय अपराध अनुसन्धान सुरक्षा गोष्ठी २०७९ सम्पन्न
२०७९-०५-०८

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संयुक्त रूपमा आयोजित उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ बुधबार सम्पन्न भएको छ ।           उक्त अवसरमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले अपराध अनुसन्धानमा भएका समस्याहरू विश्लषण गरी सफल अपराध अनुसन्धानका लागि आवश्यक रणनीति तय गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको बताउनुभयो । विभिन्न जिल्लामा भएका सफल अनुसन्धानका घटना एक आपसमा आदान प्रदान हुने र त्यस्ता सफल अनुसन्धानका पद्धतिहरूलाई अन्य जिल्लामा समेत लागु गर्ने उपस्थित प्रहरी कर्मचारीहरूलाई आग्रह समेत उहाँले गर्नुभयो ।           शान्ति सुरक्षा स्थापना तथा अपराध अनुसन्धान एवं नियन्त्रणमा अझ बढी सवेदनशील र निडर भएर कार्य सम्पादन गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले अपराध अनुसन्धानको क्षेत्रमा काम गर्न हरेक प्रहरी कर्मचारीहरूले सबै सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । संगठनको श्रीवृद्धि एवं संगठनको लक्ष्य तथा उद्देश्य हासिलका लागि सबै प्रहरी कर्मचारीहरू इमान्दारीताका साथ कार्यसम्पदान गर्नुपर्ने बताउँदै आउँदै गरेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित तवरमा सम्पन्न गर्न आवश्यक सुरक्षा योजनाहरू अवलम्बन गर्नुपर्ने उहाँले बताउनुभयो ।            काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र धानुकले धन्यवाद ज्ञापन व्यक्त गर्नुभएको उक्त कार्यक्रममा केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी अतिरीक्त महानिरीक्षक उत्तमराज सुवेदीले अपराध अनुसन्धान सम्बन्धि बिषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।            नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, साइबर ब्यूरो, काठमाडौं उपत्यका प्रहरी कार्यालय,  जिल्ला प्रहरी कार्यालयहरू काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुपाल्चोक र दोलखा, जिल्ला प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख तथा प्रतिनिधिहरूले अपराध अनुसन्धान क्षेत्रको विद्यमान अवस्था, साइबर अपराधको समस्या, फैसला कार्यान्वयनको अवस्थामा, हिरासत व्यवस्थापनको अवस्थामा, समस्या र समाधानका उपायहरू, अपराधको नयाँ ट्रेन्डहरुको अवस्था, भौतिक सबुत संकलनका समस्या र समाधानका उपायहरू, पेण्डिङ केशहरूको अवस्था लगायतका विषयमा  प्रस्तुतीकरण गर्नुका साथै उक्त विषयहरूमा अन्तरक्रिया एवं छलफल समेत भएको थियो ।  

प्र.अ.म.नि. रबिन्द्र बहादुर धानुकबाट निर्देशन सम्बोधन
२०७९-०५-०६

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले सोमबार विहान काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभाहलमा  यस कार्यालय तथा मातहत कार्यालय  प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले उपत्यका प्रहरीको कार्यशैली राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबिम्बको रुपमा रहने हुनाले उपत्यका प्रहरीले अझै उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नु पर्ने बताउनु भयो ।निर्देशनकै क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक धानुकले नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरि भरपर्दो सुरक्षा योजना तयार गरि लागु गर्न जिल्ला प्रहरी परिसरहरुलाई निर्देशन दिनु भयो साथै नेपाल सरकारले प्रतिनिधि सभा र  प्रदेश सभाको निर्वाचनको घोषणा गरिसकेको र निर्वाचन आयोगले समेत कार्यतालिका प्रकाशित गरिसकेको हुनाले सबै राजनितिक दलहरु संग समन्वय र सहकार्य गर्दै स्वतन्त्र ,निस्पक्ष र भय रहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने गरी तयारी गर्न पनि निर्देशन दिनु भयो ।गैरकानूनी लाभ वा हानी पुर्‍याउने उद्देश्यले कुनै पनि व्यक्ति वा व्यवसायीले प्रहरीलाई प्रलोभनमा पारी आफ्नो स्वार्थ पुर्ति गर्न सक्ने तर्फ सदैव सतर्क हुनु भन्दै कसैको लोभ, प्रलोभन वा आश्वासनमा नपरि गैरकानूनी क्रियाकलापलाई कडाइका साथ कानूनी दायरामा ल्याउन निर्देशन दिनु भयो । धानुक भन्नु हुन्छ ‘प्रहरीले असल नियतले कानून सम्वत गरेका राम्रो कुराहरुको बारेमा आफुले जो सुकै संग स्पष्टिकरण दिनु परे पनि सदा तयार रहेको, प्रहरीको शिर झुक्ने काम आफुले कदापि नगर्ने र कोही कसैले प्रहरी संगठनको आँच आउने कार्य गरेमा कसैलाई क्षमा नगर्ने  बताउनु भयो ।   आर्थिक पारदर्शिता, महिला हिंसा, यौनजन्य हिंसालाई शुन्य सहनसिलता (zero Tolerance) मा प्रहरी कारवाहीलाई अगाडी बढाउन र उपत्यकाको ट्राफिक ब्यवस्थापनलाई योजना बनाई कार्यन्वयन गर्न तथा नागरिकहरूसंग प्रहरीको प्रत्यक्ष सम्पर्क हुने हुनाले आफ्ना कमी कमजोरीलाई सुधार गर्दै बोली वचन-व्यवहारमा शिष्टता र नम्रता अपनाई कानून कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।कार्यक्रममा यस कार्यालय तथा मातहत कार्यालयका प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू, प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो ।

सुन जस्तो देखिने पहेलो धातु सहित पक्राउ
२०७९-०५-०१

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट करिब ४९ ग्रामको २ थान सुनको बेरुवा औठी र १ थान आईफोन-१३ सहित मंगलबार दिउँसो ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर उपमहानगरपलिका-१२ घर भएका २६ वर्षीय शिखर कुमार उपाध्याय, मकवानपुर हेटौंडा उपमहानगरपालिका-९ घर भएका ४६ वर्षीय बुद्धी बहादुर थिङ, रामेछाप दोरम्बा गाउँपालिका-३ घर भएका २० वर्षीय नारायण थापा मगर र रामेछाप दोरम्बा गाउँपालिका-४ घर भएका ३२ वर्षीय राज कुमार योन्जन तामाङ रहेका छन् ।             फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका शिखरलाई जाँच गर्ने क्रममा उक्त औंठी र मोबाइल सहित फेला पारी पक्राउ गरेको प्रहरीले उक्त औठी र मोबाइल लिन विमास्थलमा आएका अन्य तीन जना समेतलाई पक्राउ गरेको हो ।              यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

दुर्लभ वन्यजन्तु सालकको खपेटा जस्तो देखिने वस्तु सहित पक्राउ
२०७९-०५-०१

काठमाडौं, काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने धादिङ धुनिवेशी नगरपालिका-९ घर भएका २३ वर्षीय विजय तामाङलाई काठमाडौं महानगरपालिका-२६ कपुरधारा स्थित सार्वजनिक यात्रु प्रतिक्षालयबाट दुर्लभ वन्यजन्तु सालकको खपेटा जस्तो देखिने वस्तु २ केजी सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।              उक्त स्थानमा दुर्लभ वन्यजन्तुको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा उक्त परिमाणको खपेटा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।